२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

दश लाख पर्यटक भित्र्याउने हेलम्बु सपना


  • २०७९ फागुन १४, आईतबार मा प्रकाशित १ साल अघि
  • २४९ पाठक संख्या
  • कुनै बेला सुन्दरीजल–साँखुको बाटो हुँदै गोराहरूको ताँती हेलम्बु पुग्थ्यो । सडक पूर्वाधारको विकास नभए पनि पदयात्रामार्फत पुग्ने विदेशी पर्यटकका कारण सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा चहलपहल हुन्थ्यो । पर्यटकहरू पहाडी सौन्दर्यमा रमाउँथे । फर्कन्थे ।
    ५० को दशकपछि सडक पूर्वाधार निर्माणसँगै हेलम्बु क्षेत्र सहरसँग जोडिन थाल्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना बन्न थालेपछि विकास निर्माण त भित्रियो, मौलिक पहिचानचाहिँ बिस्तारै हराउन थाल्यो। पदयात्रामार्फत जाने पर्यटकमा कमी आयो । इतिहासदेखि नै हेलम्बुको पहिचान गौरवशाली थियो भन्ने कुरा शाहवंशीय तत्कालीन राजा रणबहादुरकी जेठी महारानी राजराजेश्वरी सो ठाउँमा निर्वासनमा गएको घटनाले पुष्टि गर्दछ ।
    कालान्तरमा ‘हेलम्बुको स्याउ’ गीतको अंशमा सीमित भयो भने ‘ग्लोबल वार्मिङ’ का कारण हिमालमा हिउँ देखिन छाड्यो । यति मात्रै होइन, ह्योल्मो संस्कृति र सभ्यता पनि बिस्तारै विस्थापित हुन थाल्यो । २०७४ पछि भने हेलम्बुको पहिचान फरक तरिकाले स्थापना गर्ने योजना अघि सारिएको छ । त्यो हो, ‘हेलम्बु ग्रेट ट्रेल’ को निर्माण ।
    ६० किलोमिटर लामो निर्माणाधीन ग्रेट ट्रेलले पर्यटक आकर्षित हुने र त्यहाँको आर्थिक क्षेत्रले फड्को मार्ने विश्वास गाउँपालिकाको छ । ट्रेल निर्माणपछि हेलम्बुमा वर्षमा कम्तीमा १० लाख आन्तरिक पर्यटक भित्र्याउने योजना गाउँपालिकाको छ । ट्रेल निर्माणका लागि गाउँपालिकासहित प्रदेश र संघले पनि बजेट छुट्ट्याएका छन् ।
    तीन तहबाट बजेट छुट्ट्याएर काम गर्दा पनि ट्रेल निर्माणमा ढिलाइ भइरहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् । चार अर्ब रुपैयाँको योजनामा बजेट जुटाउन कठिन भइहरहेको गुनासो उनको छ । गाउँपालिकाले ट्रेल निर्माणका लागि नौ करोड रुपैयाँ खर्च गरिसकेको छ । यस क्रममा तीन किलोमिटर ट्रेल निर्माण सम्पन्न भएको छ । सरकारले आवश्यक बजेट उपलब्ध गराएमा दुई वर्षभित्रै ग्रेट ट्रेल निर्माण गर्न गाउँपालिका अध्यक्ष शेर्पा तयार छन् ।
    अध्यक्ष शेर्पा भन्छन्, ‘संघ र प्रदेशले छुट्टै टेन्डर गरेका छन् । हामीसँग त्यति धेरै पैसा छैन ।’ उनी कसैले चार अर्ब रुपैयाँ दिएमा दुई वर्षभित्र ट्रेल निर्माण सम्पन्न गर्ने बताउँछन् । ‘मलाई लौ अध्यक्षज्यू, तपाईँले दुई वर्षभित्र काम सकाउनुपर्छ, चार अर्ब बजेट दिन्छु भनेर कुनै निकायले भन्छ भने मसँग त्यति अवधिमा आयोजना सम्पन्न गर्ने योजना छ’, शेर्पाले भने ।
    दुईदुई किलोमिटरका दरले ३० वटा टेन्डर निकाल्ने हो भने एउटा ठेकेदारले दुई वर्षमा दुई किलोमिटर ट्रेल तयार पार्न सक्ने शेर्पा बताउँछन् । ट्रेल निर्माणमा गाउँपालिकाले वर्षमा एक करोडभन्दा बढी खर्च गर्न सक्ने अवस्था छैन । गाउँपालिकाको बजेट शिक्षा, स्वास्थ्य, बाटोघाटो निर्माणमै सकिने शेर्पाको भनाइ छ ।
    संघीय सरकारले बहुवर्षीय आयोजनाका रूपमा पारेर वार्षिक कम्तीमा ५० करोड रुपैयाँ बजेट विनियोजन गर्ने हो भने ट्रेल निर्माण अलिक चाँडो सकिने उनको विश्वास छ । यसका लागि आफूले संघीय सरकारसँग पहल गरिरहेको अध्यक्ष शेर्पाले बताए ।

    धेरैले ट्रेल हेलम्बुका लागि मात्रै भन्ने बुझेको शेर्पा बताउँछन् । योजना बन्यो भने देशको पर्यटन क्षेत्रमा निकै फाइदा हुने उनको विश्वास छ । सडक पिच भएमा राजधानीबाट अढाई तीन घण्टामा पुग्न सकिने हेलम्बुमा वर्षमा १० लाख पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ । यसपछि आर्थिक रूपमा हेलम्बु सम्पन्न हुने सपना शेर्पाले देखेका छन् । उनी भन्छन्, ‘वर्षमा १० लाख पर्यटक हेलम्बु ल्याउन सकियो भने यो भेगको कायापलट हुनेछ ।’
    सुरुमा पत्याएनन् गाउँलेले
    गाउँपालिका अध्यक्ष शेर्पाले अघिल्लो कार्यकालमा ट्रेल निर्माणको अवधारणा अघि सार्दा धेरैले पत्याएनन् । बजेट धेरै लाग्ने भएकाले गाउँलेले विश्वास नगरेको उनी स्मरण गर्छन् । उनी भन्छन्, ‘मैले योजना अघि बढाउँदा केही साथीहरूले पत्याएका थिएनन् । यति ठूलो योजना अघि सार्दा गाउँपालिका अध्यक्ष बहुलायो कि क्यो हो पनि भने ।’ नभनून् पनि किन ? हेलम्बु गाउँपालिकाको पाँच वर्षको बजेट करिब एक अर्ब रुपैयाँ छ ।
    पैसा छैन भनेर योजना सुरु नगर्ने हो भने परिवर्तन कहिल्यै नहुने ठानेर आफूले महत्त्वाकांक्षी योजना अघि सारेको शेर्पा बताउँछन् । अहिले प्रदेश सरकार र संघीय सरकार दुवैले सहयोग गर्न थालेपछि शेर्पा हौसिएका छन् । निर्माणाधीन ट्रेलले पाकीडाँडा, गोसाइँकुण्डको नजिकै, भिमाथाङ, ढुक्पु, आमा याङ्ग्री, सेर्माथान हुँदै बुद्धपार्कसम्म समेट्छ। ट्रेल बनाउन स्थानीय ढुंगाको प्रयोग गरिएको छ ।
    अब योजना ढिलोचाँडो सकिनेमा शेर्पा ढुक्क छन् । उनले भने, ‘कम्तीमा चीनको ग्रेटवालपछिको स्ट्यान्डर्डको ट्रेल नेपालमा हुनेछ । यसले देशको पहिचान पनि बढ्छ। यही सोचेर योजना अगाडि बढाइएको हो ।’ ट्रेलबाट हिमाली शृंखला, लेकाली बस्ती, दर्जनौँ गुम्बा तथा धार्मिकस्थल अवलोकन गर्न सकिन्छ । समुद्री सतहबाट २४०० देखि ५००० मिटर उचाइसम्म फैलने ट्रेल हिँडेर पूरै छिचोल्न नौ दिन लाग्ने अनुमान छ ।
    यसरी हिँड्दा तामाङ, ह्योल्मो, गुरुङलगायत जातजातिको संस्कृति अवलोकन गर्न सकिन्छ । ‘माउन्टेन फ्लाइट’ बाट देखिने मध्य तथा पूर्वी क्षेत्रका हिमालमध्ये ८० प्रतिशत ट्रेलबाट देखिनेछ । ट्रेलमै पर्ने पाके डाँडाबाट सगरमाथासमेत देखिन्छ । ट्रेलको सेमिसिधाङबाट गोसाइँकुण्ड मात्र एक किलोमिटरको दुरीमा छ ।
    मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान पनि हेलम्बुमै पर्छ । जुन काठमाडौँको जोरपाटीदेखि साँखु हुँदै ५५ किलोमिटर र सुन्दरीजल हुँदै ५० किलोमिटर टाढा छ । अहिले कच्ची सडक भएकाले चारपाँच घण्टा लागे पनि पिच भएपछि साढे दुई घण्टाको मोटर यात्रामा हेलम्बु पुग्न सकिने गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् ।
    पर्यटक कहाँबाट पुग्छन् ?
    काठमाडौँ उपत्यकामा बढ्दो सहरीकरणसँगै जनघत्व पनि तीव्र रूपमा बढिरेहको छ । ठूलो जनसंख्या रहेको उपत्यकाबाट बिदाको दिनमा थोरै मात्रैलाई हेलम्बु लैजाने हो भने गाउँपालिकालाई धेरै फाइदा हुने शेर्पा बताउँछन् । उनी भन्छन्, ‘हेलम्बुमा काठमाडौँ भ्यालीबाटै पर्यटक भित्र्याउने हो ।’ पर्यटनको सिजनका बेला विदेशी पर्यटकलाई पनि भित्र्याउने लक्ष्य गाउँपालिकाको छ ।
    हेलम्बु क्षेत्रमा वर्षमा तीनपटक हिउँ पर्छ । गाउँपालिका अध्यक्ष शेर्पा भन्छन्, ‘हिउँ परेको समयमा ग्रेट ट्रेलमा आएर खेलिरहेको भिडियो कसैले टिकटक र फेसबुकमा हालिदियो भने यहाँको झन् प्रचार हुनेछ । पर्यटकको ताँती लाग्नेछ ।’
    अहिलेसम्म नेपाललाई सगरमाथाको देश, बुद्धको देश, पशुपतिनाथको देश भनेर चिनिँदै आएकोमा ट्रेल पनि नेपाललाई चिनाउने अर्को माध्यम बन्ने शेर्पाले बताए । काठमाडौँ आएका थोरै मात्रै विदेशी पर्यटकलाई हेलम्बुमा ल्याउन सकियो भने यस क्षेत्रको अर्थतन्त्र चाँडै उकासिने शेर्पाले बताए । उनले भने, ‘हामी त्यही अवधारणाअनुसार यो भेगको अर्थतन्त्रलाई माथि उकास्न सक्रिय छौँ । चीनको ग्रेटवाल बनाउन तीन हजार वर्ष लागेको थियो रे । हामी पनि ढिलोचाँडो बनाइछाड्छौँ ।’
    हिमाली दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रीतिरिवाजका कारण हेलम्बुका बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । हेलम्बु क्षेत्रमा विभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको किंवदन्ती पाइन्छ ।
    हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणीय जुगल हिमालको सन्निकट याङ्रीमा डाँडाको काखमा छ । हेलम्बुको माथिल्लो क्षेत्रमा ह्योल्मो र तामाङ जातिको बसोबास छ । आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ हेलम्बुका पर्यटकीय स्थल हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट