परराष्ट्रमन्त्री आरजु राणा देउवाले भोटेकोशी गाउँपालिका– २ मा रहेको तातोपानी धारामा निर्मित स्नानगृह भवनको उद्घाटन गरेकी छिन्।
नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाकाे अगुवाइमा स्नानगृह निर्माण भएको हो।
६ करोड लागतमा दुई पक्की भवन निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए। स्विमिङपुल,बगैंचा र अन्य संरचना बन्न बाँकी रहेको छ ।
तातोपानीमा सातवटा धारा रहेका छन्। हाल बनेका नयाँ भवनमा ४७ वटा बाथटव निर्माण गरिएको छ। कात्तिक र चैतमा विशेष मेला लाग्ने छ । विशेष मेलाका समयमा दैनिक एक हजार बढी पर्यटकले तातोपानी धारामा स्नानका संगै नेपाल चीनकाे सीमानाका भ्रमण गर्ने गरेकाे वडा अध्यक्ष कुमार श्रेष्ठले बताए ।
भवनकाे उद्घाटन गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवाले विशाल छिमेकी राष्ट्र चीन संग जाेडिएकाे धार्मिक तथा पर्यटकीय स्थल तातोपानी धाराकाे महत्वकाे बारेमा चर्चा गरिन् । अरनिकाे राजमार्गकाे स्तरउन्नतिकाे लागि सरकारले महत्त्वका साथ कार्य गर्ने राणाको भनाइ थियाे ।
तातोपानी धारा व्यवस्थित भएपछि पर्यटक र भक्तजनलाई स्नान गर्न सहज हुने बताउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थय मन्त्री माेहन बहादुर बस्नेतले स्थानीय सरकारकाे अम्दानी बढ्ने र देशी विदेशी पर्यटनको अवागमनमा वृद्धि हुने बताए ।
तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी बिमार सञ्चो हुने विश्वास गरिन्छ। यहाँ चीन र भारतका समेत पर्यटक आउँने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस