चौतारा–सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २७ औं बार्षिक साधारण सभा तथा ९ औँ जिल्ला अधिबेशन आगामी चैतमा हुने भएको छ ।
संघको शुक्रबार सदरमुकाम चौतारामा बसेको कार्यसमिति बैठकले चैत ९ र १० गते साधरण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।अधिवेशन मुख्य कार्यालय बाह्रबिसेमा गर्ने गरी मिति तोकिएको संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । उक्त अधिवेशनले संघको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
यसअघि संघको चौतारास्थित शाखा कार्यालयमा संघको तर्फबाट प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य, प्रमुख मालपोत अधिकृत खेमराज उपाध्याय, प्रहरी नायव उपरीक्षक निरन्जन भट्टराई र आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत हरिप्रसाद तिमिल्सिनालाई स्वागत गरिएको थियो ।
संघका अध्यक्ष बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष बेदबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष कमलकुमार श्रेष्ठ, संघका महासचिव शम्भु तिमिल्सिनालगायतले नयाँ जिम्मेवारीमा आएका प्रशासकलाई मायाको चिनोसहित स्वागत गरे ।
कार्यक्रममा मन्तब्य राख्दै केन्द्रीय सदस्य बेदवहादुर श्रेष्ठले तातोपानी नाका संचालनको दायरा फराकिलो पार्न स्थानीय प्रशासन तथा राजनीतिक नेतृत्वले पहल लिनु पर्ने बताए । प्रजिअ आचार्यले जिल्लाबासिलाई छिटो र छरितो सेवा प्रदानमा आफु लागि पर्ने बताए । नाकाको समस्या समाधानको लागि प्रमुख जिल्ला अधिकारीको हैसियतले गर्न सकिने पहल कदमीमा लिने बताए ।
सोही अवसरमा संघले सरोकारवाला निकायबीच समसामयिक विषयमा छलफल गर्दै करदाता शिक्षा कार्यक्रमसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस