ध्रुव दङ्गाल
सिन्धुपाल्चोक, कात्तिक २
तेस्रो संस्करणको जिल्लाकै चर्चित फुटबल प्रतियोगिता मालिकादेवी कपको उपाधिका लागि रोयल फेमिली र महांकालभूमि तामाङ समाज भिड्ने भएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा मैदानमा बिहीबार भएका सेमिफाइनलका खेलमा जित हाँसिल गर्दै रोयल फेमिली र महांकालभूमिले उपाधि भेट पक्का गरेका हुन् । सातादेखि जारी प्रतियोगिताको फाइनल शुक्रबार हुने छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने छन् ।
पहिलो समिफाइनल खेलमा रोयल फेमिली चौतारा स्पोर्टिङ क्लबलाई १–० गोलले स्तब्ध बनाउँदै उपाधि नजिक पुगेको हो । अर्को सेमिफाइनलमा महांकालभूमिले चौतारा वडा नं. ६ विरुद्ध ३–० गोलको सहज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो । रोयल फेमिलीका विदेशी खेलाडी एलेक्स र महांकालभूमिका राम ढकाल म्यान अफ द म्याच भए । उनीहरुले ट्रफी पुरस्कार पाए ।
स्थानीय मेलचौर युवा जागरण समाजको आयोजनामा भइरहेको खुला ७ए साइड नगर कप प्रतियोगितामा बाह्यसहित जिल्लाका २९ टोलीले भाग लिएका थिए । जागरण समाजले बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा बर्सेनी यो प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकले बर्सेनी पुरस्कार राशी र सहभागी टोली बढाउँदा रोमाञ्चक बन्दै गएको यो प्रतियोगिता जिल्लामै चर्चित छ ।
प्रतिक्रिया दिनुहोस