टुकी संघ सुनकोशीको ३१ औं साधारण सभा, ४६ औं टुकी दिवस तथा सामाजिक परीक्षण कार्यक्रम संपन्न भएको छ । सुनकोशी गाउँपालिका वडा नं.६ का अध्यक्ष चक्रवाहदुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको सभाले संघको वार्षिक प्रगति, आर्थिक तथा सामाजिक परीक्षण प्रतिवेदन पास गरेको हो ।
संस्थाले गत आ.व.२०७९÷०८० मा सुआहारा दोस्रो, सुनौलो भविष्यको लागि शिक्षा, सामुदासयक उत्थानशील परियोजना दोस्रो र संस्थागत विकासको कार्यक्रम संचालन गरेको संस्थाकी सहसचिव ज्ञानु तामाङद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्लाका १२ पालिकामा सुआहारा दोस्रो, हेलम्बु गाउँपालिकाको १,६,७ र चौतारा साँगाचोकगढी नगरपालिका ५,७,११ र १२ नं.वडामा सामुदायिक उत्थानशील परियोजना साथै सुनकोशी गाउँपालिकाको १,२,३,४ र ५ नं.वडामा सुनौलो भविष्यको लागि शिक्षा परियोजना संचालन गरिएको अध्यक्ष राजेन्द्र कुमार भण्डारीले बताए ।
संस्थाले तीनवटै परियोजना र संस्थागत कार्यक्रम सहित ४ करोड ८६ लाख ७ हजार दुई सय तेईस रुपिंयाको आम्दानी खर्च गरिएको कोषाध्यक्ष माधव पौडेलद्धारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा संघको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुति गरिएको थियो । त्रिपुरा परामर्श सेवा केन्द्रले करिव १० दिन लगाएर संस्थाको कार्यक्रमको अनुगमन तथा लाभग्राहीहरुसंग छलफल गरेको थियो । संस्थाद्धारा संचालित कार्यक्रम प्रति लाभग्राहीको धारणका साथै संस्थाको राम्रा र सुधार गर्नु पर्ने पक्ष सामाजिक परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
सभामा सुनकोशी गाउँपालिकाका नि.प्रमुख प्रशाासकीय अधिकृत युगबहादुर खड्का, गैसस महासंघका जिल्ला सचिव राजु वि.क., आत्मा निर्भर बचत तथा ऋण सहकारीका व्यवस्थापक बिचारी प्रसाद प्याुरेल र टुकी साना किसान सहकारीका अध्यक्ष कृष्णप्रसाद सुवेदीलगाएतको मन्तव्य राखेका थिए । सभामा अध्यक्ष राजेन्द्र कुमार भण्डारी र कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद पौडेलले उठेका जिज्ञासाको जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस