२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

सुनसान तातोपानी नाका


  • न्युज कोशी
  • २०७९ फागुन ५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १८७ पाठक संख्या
  • काठमाडौंदेखि १ सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो ।
    तर २०७२ साल बैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिलेको समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु छैन । कुनै रेष्टुराँ र होटलमा भ्याइनभ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटल तथा रेष्टुराँ छैन । चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ । जसका कारण चहलपहल शून्य जस्तै अवस्थामा पुगेको हो ।
    तातोपानी नाका नियमित सञ्चालन नभएपछि मितेरीपुलदेखि चीन–नेपाल दुवैतर्फको करिब पाँच किलोमिटर क्षेत्रमा चहलपहल छैन । यो नाकाबाट कहिलेकाँही मात्र सामान आयात भने भइरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार भएपछि चीन सरकारले तीन वर्षदेखि बन्द रहेका रसुवागढी र हुम्ला नाका खोलेको छ ।
    हाल रसुवागढी नाकाबाट निर्यात सुरु भएको छ भने यारी नाकाबाट आयात भइरहेको छ । तर व्यवसायिक रुपले महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रुपमा खुलेको छैन । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने भएकाले नेपाली व्यापारीहरु तातोपानी नाकाबाटै सामान ल्याउन खोज्छन् ।
    नेपाल च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ कोटा तोक्नेभन्दा पनि आवश्यक सामग्री ल्याउने गरी चीन सरकारले वातावरण बनाउनुपर्ने बताउँछन् । चीनमा तीन वर्षदेखि जारी बन्दाबन्दी अहिले मात्रै हटेकाले नाकाबाट आयात–निर्यात खुला हुने स्थानीयमा आशा भने कायमै छ । चिनियाँ पक्षले बन्दाबन्दी हटेपछि खासाबाट पहिलेको तुलनामा बढी कन्टेनर नेपाल पठाउन थालेका छन् ।
    लामो समयदेखि नाका नखुल्दा त्यहाँ कार्यरत मजदूरहरु समस्यामा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए । ‘सामान लोड र अनलोड गर्ने मजदुरहरुलाई काम नै पुगेको छैन’, उनले भने, ‘आयात र निर्यात पहिले झैँ भयो भने उनीहरुले पनि काम पाउँछन् ।’ नाका बन्द हुँदा त्यहाँ कार्यरत व्यवसायीहरु पलायन हुन थालेका छन् । लिपिङमा झोले पोके व्यापार र पर्यटकको भारी बोकेर गुजारा गर्ने स्थानीयहरु विदेश जान बाध्य भएका छन् ।
    भोटेकोशी गाउँपालिकाको पाँच वटा वडा र बाह्रबीसे नगरका दुई वटा वडाका अधिकांश स्थानीय विदेश पलायन भएका हुन् । भोटेकोशी नारायणथान निवासी शेर्पाले तातोपानी नाका बन्द भएको आठ वर्षयता यस क्षेत्रका अधिकंश घर खाली भएको र धेरैजसो विदेश गएको बताए ।
    तातोपानी किन बन्द ?
    अनिश तिवारी
    चीन जोड्ने चर्चित उत्तरी नाकामध्ये केरुङ (रसुवागढी) बाट पुस १३ यता निर्यात भइरहँदा तातोपानीमा आंशिक आयात हुँदै आएको सात वर्ष पुगिसकेको छ ।
    उता केरुङसहित अन्य नाकाको चमक फर्किरहँदा पुरानो व्यापारिक केन्द्र र कैलाश मानसरोवर जाने मुख्य मार्ग तातोपानीलाई चीनले प्राथमिकतामा राखेको छैन । अन्यमा झैं भौतिक संरचनामा पूरै तयार तातोपानीमा अत्याधुनिक भव्य सुक्खा बन्दरगाह भवन र ऐतिहासिक मितेरी पुल सुनसान छन् । भूकम्प र बाढीपहिरोले ध्वस्त कोदारी राजमार्ग २६ किमि अहिले सीआरसीसीले पहिरो खण्डलाई मर्मतसम्भार गर्दै छ ।
    भौतिक संरचनामा अन्यत्रझैं सहज वातावरण भए पनि चीनले तातोपानीबाट निर्यात र सर्वसाधारणका लागि नखुलाउँदा यहाँका व्यवसायी र सरोकारवालाको एउटै प्रश्न छ, ‘किन प्राथमिकतामा परेन तातोपानी ?’ काठमाडौंबाट चीनको मुख्य व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी नाकाबाट १ सय ६४ किमि दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किमि कम दूरी पर्छ । चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ ।
    उत्तरी नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्ने र सामान छोटो समयमा भित्रने भएकाले व्यवसायी सकभर दक्षिण जान चाहँदैनन् । तर भूकम्प, बाढीपहिरो र कोभिडको अनेक बहानामा चीनले स्थल नाका हुँदै आएको सामग्री आयातनिर्यात व्यापारलाई पूरै निरुत्साहित गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत बताउँछन् ।
    ‘चीनले रसुवालाई प्राथमिकता दिएको छ, रसुवाबाट निर्यात खुलाइरहँदा तातोपानीबाट कन्टेनर आयातसमेत सहज बनाएको छैन । दिनहुँ तीनदेखि चार वटा कन्टेनर पठाइरहेको छ, यसलाई खासै प्राथमिकतामा राखेको देखिँदैन, त्यसैले हामीले धेरै पटक विभिन्न माध्यममार्फत सरकारलाई नाका सहज बनाउन पहलकदमी लिन अनुरोध गरिरहेका छौं,’ बस्नेतले भने । तातोपानीबाट व्यापार गर्दै आएका सयौं व्यवसायी चिनियाँ कठोर नीतिका कारण दक्षिणको भर पर्न बाध्य छन् ।
    तातोपानीमा आयात बढ्ला र लगानी उठाउँला भनेर बसेका क्यारिङ व्यापारी निराश भएसँगै कामदार र गाडी चालक पेसा छाडेर धमाधम घर फर्किन थालेका छन् । ताल फुट्ने जोखिम र कोभिडका अनेक कारण देखाएर सरकारको गैरजिम्मेवारीपनकै कारण चीन पक्षले एकतर्फी आयात मात्रै खुलाएको उनको तर्क छ ।
    चिनियाँ इलाका बजार क्षेत्रमा तीन वर्षदेखि जारी ल्हासा लकडाउन हटाइएपछि अहिले ल्हासा प्रशासनले ल्हासा मालवाहक रुट सुरक्षा प्रोटोकल अनिवार्य गरेको छैन । त्यतिबेला कोभिडको पहिलो लहरमा बन्द नाका चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पु¥याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित खुलाइएको थियो ।
    चीनले मालवाहक सवारी रुटमा सुरक्षा प्रोटोकल अनिवार्य नगरेर आउजाउ खुकुलो बनाएसँगै निर्यात खुलाउने सम्भावना रहे पनि देखिने प्रगति नरहेको नेपालका लागि चीनको ल्हासास्थित महावाणिज्यदूत नवराज अधिकारीले जनाए । ल्हासा प्रशासनसहित उच्च चिनियाँ अधिकारीसँग बसेर नाकालाई पुरानै अवस्थामा फर्काउन बैठक र छलफलका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । बाहिर नाका खुल्नेबारे हल्ला व्यापक चले पनि औपचारिक रूपमा माथिल्लो तहबाट सकारात्मक रहेको भन्नेबाहेक केही नआएको उनको भनाइ छ ।
    केरुङमा आयातनिर्यात खुलेपछि तातोपानीमा त्यही हुने अनुमानमा झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनरदेखि होटल व्यवसायीसम्म आसमा छन् । नाका खुल्ने र व्यापार हुने उत्साहमा लिपिङ पुल छेउका होटल, पसल थापेर बसिरहेका व्यवसायी नाकामा कुनै चहलपहल नभएपछि निराश बनेका छन् । नाकालाई पूर्ण रूपमा खुलाउन र पूर्वाधार बलियो बनाउन हरसम्भव प्रयास गरिएको भोटेकोशी– २, तातोपानीका अध्यक्ष कुमार श्रेष्ठले जनाए । यस नाकाबाट अहिले प्रतिदिन मुस्किलले चार वटा मात्रै कन्टेनर भित्रिने गरेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले बताए ।
    ‘अघिल्लो आर्थिक वर्ष ०७६÷७७ मा दिनहुँ ४० देखि ५० वटा कन्टेनर भित्रिन्थे । राजस्व पनि राम्रै संकलन भएको थियो । तर यस पटक लक्ष्यको ३० प्रतिशत मात्रै जम्मा भएको छ,’ उनले भने । चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य राखिएकामा ३० प्रतिशत अर्थात् एक अर्ब ३५ करोड मात्रै राजस्व उठेको उनले जनाए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट