भूकम्प र बाढी–पहिरोबाट थिलथिलिएका सिन्धुपाल्चोकका मतदातालाई आफूतिर आकर्षित गर्न यहाँका प्रमुख दलका उम्मेदवारहरूले विपद् व्यवस्थापन र नियन्त्रणलाई पहिलो अजेन्डा बनाएका छन् ।
चाहे नेताहरूको भाषणमा होस् वा प्रतिबद्धतापत्र, दलहरूले बाढीपहिरो तथा भूकम्पपीडित जनताको उद्धार, प्रकोप नियन्त्रण तथा बाढी पहिरोले पु¥याएकोे क्षतिको पुनर्निर्माण गर्ने कबोल गरेका हुन्छन् । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको चासो पनि विपद् व्यवस्थापनमै छ ।
प्राकृतिक रूपले सुन्दर सिन्धुपाल्चोक विपद्सँग जुध्दै आइरहेको छ । हरेक वर्ष यस जिल्लामा प्राकृतिक विपत्ति निम्तिने गरेको तथ्यांकले देखाएको छ । विगत केही वर्षयता सिन्धुपाल्चोकमा बर्सेनि विपद्का घटना निम्तिरहेका छन् । जसका कारण ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । खासगरी बाढीपहिरो, भूकम्प, आगालागी, चट्याङ, हावाहुरी, करेन्ट लागेर लगायत विपद् जिल्लावासीले हरेक वर्ष भोग्दै आइरहेका छन् । पछिल्ला ६ वर्षमा प्राकृतिक विपद्बाट मात्र सिन्धुपाल्चोकमा ३ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ७० जना घाइते भएका छन् ।
भूकम्पले अर्वौ रूपैयाँको क्षति भयो। जुरे पहिरो र भूकम्पबाहेक ५५ करोड ८२ लाख रूपैयाँ बराबर भौतिक क्षति भएको तथ्यांकले देखाउँछ । सिन्धुपाल्चोबासीलाई विपद्ले यसरी छोएको छ कि, सिन्धुपाल्चोक १ मा सत्तारुढ गठबन्धनले तयार गरेको साझा प्रतिबद्धतामा विपद् व्यवस्थापनलाई प्राथमिकताका साथ स्थान दिइएको छ । ‘आगामी दिनमा हुन सक्ने विपद्को न्युनिकरणको लागि पूर्वतयारीमा विशेष कार्यक्रम सञ्चालन गर्न सक्दो पहल गरिने छ’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘विपद् पूर्वतयारी र प्रतिकार्य योजना बनाइ कार्यान्वयनका लागि जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिमार्फत भूमिका निर्वाह गरिने छ ।’
प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत र नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङ अहिले चुनावी मैदानमा आमने–सामने छन् । यसैगरी सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा र एमालेका सरेश नेपाल प्रतिस्पर्धामा छन् । घरदैलो, कार्यकर्ता भेटघाट, शुभकामना आदानप्रदान, चाहे कोणसभा होस्, सबै कार्यक्रममा उम्मेदवारहरूको प्रतिबद्धता र अजेन्डा विपद् व्यवस्थापनमै केन्द्रित हुने गरेको छ । यसैगरी ४ वटै प्रदेश सभामा उम्मेदवारी दिएका उम्मेदवारहरूले मतदाताको ध्यान आफूतिर आकर्षित गर्न प्रकोप व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता दिने गरेका छन् ।
सिन्धुपाल्चोकमा विपद
२०७१ साउन १७ गते विश्वकै ध्यान खिच्ने गरी जुरे पहिरो खस्दा १४५ को ज्यान गयो । पहिरोले तत्कालीन मांखा, राम्चे र टेकानपुर गाविसका ड्याम, काबुने, इटिनीलगायत पाँच गाउँ बगायो । जुरे पहिरो थुप्रिएर ११ घन्टा सुनकोसी नदी थुनिँदा कृत्रिम ताल नै बन्यो । घटनामा २७ घाइते भएका थिए भने ४२ पक्की घरसंरचना ध्वस्त भए । ३७ दिनपछि कृत्रिम ताल फुट्दा तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पु¥यायो । २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले बढी क्षति सिन्धुपाल्चोकमा पु¥यायो । पराकम्पले थप जनधनको क्षति पु¥यायो ।
भूकम्पमा परी जिल्लामा ३ हजार २ सय ६२ को मृत्यु भयो । १५ सय ३८ घाइते भने ६२ हजार १ सय ४५ निजी आवास ध्वस्त भए । २७ हजार ४ सय ७६ पशुचौपाय र १ लाख २० हजार ३ सय ८ पशुपंक्षी मारिए । भूकम्प प्रभावित ३२ जिल्लामा भएको क्षतिमध्ये झण्डै आधा मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नु प¥यो । २०७३ असार २१ गते तिब्बतको हिमताल फुटेर भोटेकोसी नदीमा बाढी आउँदा तल्लो तटीय क्षेत्रको तातोपानीदेखि बाह्रबिसेसम्मका झण्डै सय घरसंरचना बगे । अरनिको राजमार्ग छियाछिया भयो ।
यसैगरी २०७७ साउन ३० गते जुगल गाउँपालिका– २ स्थित लिदी गाउँलाई पहिरोले छोप्दा ३९ को मृत्यु भयो । अबिरल वर्षासँगै बस्ती माथिबाट खसेको पहिरोले गाउँ नै पुरेको थियो । पहिरोमा फसेका १५ स्थानीयलाई जीवितै उद्धार गरिएको थियो । २०७७ भदौ २७ गते बाह्रबिसे नगरपालिका– ७, घुम्थाङस्थित भिरखर्क र नागपुजे गाउँमा पहिरो खस्दा ३१ स्थानीयले ज्यान गुमाए । ८ घाइते भए । भिरखर्क र नागपुजे गाउँ सँगै थिए । बाह्रबिसे नगरपालिका– ५, जम्बुमा २०७७ असार २४ गते निम्तिएको बाढीपहिरोले २१ स्थानीयको ज्यान लियो । ५ जना घाइते भएका थिए ।
विपदमा म सधैं अगाडिः मोहन बस्नेत
चाहे महाभूकम्प होस् वा बाढीपहिरोमा वा चाहे कोरानको बेला, सबैभन्दा पहिले म आफैं पुगेर सबैखालको उद्धार गर्ने र काम गर्ने पहिलो व्यक्ति म हुँ । यो सबैलाई थाहा छ । कोभिडका बेलामा हामीले निजी क्षेत्रबाट अक्सिजन प्लान्ट नै चलाएका थियौं । सरकारले देशभर अक्सिजन सिलिण्डर दिन नसकेको बेला चीनबाट अक्सिजनको सिलिण्डर ल्याएर निःशुल्क बाँड्ने व्यक्ति पनि म हुँ । विभिन्न किसिमका बाढी पहिरोमा कोही जान नसकेको बेला हेलिकोप्टर लिएर उद्धार गर्ने व्यक्ति पनि म हुँ ।
कोरानामा सिन्धुपाल्चोकका १७ ठाउमा निःशुल्क स्वास्थ्य शिविर चलाएका थियौं । यहाँका सबै स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण तथा कोभिड बिमा गरेका थियौं । बाढीपहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्हरूको विषयमा अध्ययन गर्न बलेफी– ८ मा जुुरेमा अन्तर्राष्ट्रियस्तरको अध्ययन केन्द्र बनाउदैछौं । यो जिल्लामा भएका सबै समस्या र त्यसबाट उत्पन्न भएका परिस्थितिको बारेमा जानकारी गराउन एउटा पुस्तकालय बनाउन लागेको छौं । अध्ययन केन्द्रको काम सुरु भइसकेको छ । मैले नै शिलान्यास गरेको छु ।
यसैगरी मेलम्चीको खोलामा एउटा बेलिब्रिज बनाएको छु । मेलम्चीमा अर्को बेलिब्रिज यही जेठ मसान्तसम्म बनाउने प्रतिबद्धता गरेको छु । पोहरको बाढीले मेलम्चीमा ठाउ ठामा पुल भत्काएको थियो । बस्ती जोगाउन, नदी किटाण रोक्न हामीले अभियान नै सुरु गरेका छौं । जुरेमा पहिरो गएको बेला हामीले पहिरो पीडितलाइ नगद नै बाँडेका थियौं ।
विपदमा सधैं क्रियाशील छौंः शेरबहादुर तामाङ
सिन्धुपाल्चोक जिल्ला विपद्बाट सबैभन्दा बढी प्रभावित जिल्ला हो । विपद्बाट यहाँ ठूलो ठूलो क्षति भएको छ । विपद् व्यवस्थापनमा सबैभन्दा बढी काम हामीले नै गरेका छांै । हामी सरकारमा हुँदा हामीले स्थायी प्रकृतिको विपद् व्यवस्थापन प्राधिकरण बनाएका छौ । अब विपद् न्यूनीकरणसम्बन्धी स्थानीय समितिहरू गठन हुनेछन् ।
जिल्लामा यसको नेतृत्व सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । हामीले नै विपद् प्राधिकरण ऐन बनाएका हौ । अहिले त्यो ऐन क्रियाशील छ । विपद सम्बन्धी एमालेको प्रष्ट दृष्टिकोण छ । विपदको न्यूनीकरण तथा विपद्बाट हुने क्षतिको पुनस्थापर्ना गर्न विपद् व्यवस्थापन प्राधिकरणमार्फत हुने व्यवस्था मिलाएका छौं । मेलम्चीको बाढीबाट भएको क्षति न्यूनीकरण गर्न, रातहको प्याकज सुरु गर्न तथा मेचम्ची खोलालाई नियन्त्रणमा राख्न हामीले विश्व बैंकबाट साढे ६ अर्ब प्राप्त गरेका छौं। सरकारले त्या पैसा खर्च गरेको छैन ।
आसन्न चुनावबाट देश ठूलो पार्टी मुक्त हुन्छः राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका हुन् ।
उनले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको भन्दै देशका दुई ठूला पार्टीहरू पापीहरूले भरिएको पार्टी भनि टिप्पणी गरे । जबराले संसद्मा सबै पार्टी चाहिने उल्लेख गर्दै संसद्मा गएर राप्रपाका नेताहरूले खबरदारी गर्ने बताए । उनले मुलुकको संरक्षण गर्ने एक मात्र विकल्प राप्रपा भएको बताए ।
प्रतिक्रिया दिनुहोस